जानकारी


  • रदिफ

    रदिफ गजलमा दोहरिने शब्द या शब्द लहर हो । शब्द लहर भन्नाले केही गजलहरुमा दुई, तीन, चार या सो भन्दा माथि सङख्याका शब्द सम्मको रदिफ प्रयोग गरिएको पाइएको छ ।

    रदिफ मतलामा दुई पटक मिसराको अन्तमा र अन्य सेरहरुमा मिसराको अन्तमा एक पटक प्रयोगमा आउँछ । मतला या सेरमा प्रयुक्त भए पनि रदिफको आचरण या स्थिति स्थिर हुन्छ र यसमा कुनै फेरबदल आउँदैन । गजलको नियमानुसार रदिफलाई फेरबदल गर्न वजिर्त गरिएको छ । रदिफको रुपमा मतलामा प्रयुक्त रदिफ नै हरेक मिसरामा रुप नफेरिएर दोहरिने गर्दछ ।

    रदिफको गौण शक्ति के हो भने यसले मिसरामा काफियासँग मिलेर सेरलाई पूर्णता दिन्छ र सेरका भावसँगै रदिफ पनि मिलेर अर्थ खुलाउँछ ।

    उदाहरणको लागि यहाँ रावतको एक गजल, रवी प्राञ्जलको एक गजल र बाबु त्रिपाठीको एक गजल लिएको छु ।

    रावतको गजलको रदिफ हेरौं ।.......

    दुइटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ
    जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ ।

    सधैँ चर्किनैँ खोज्ने, सधैँ फुट्नै खोज्ने
    शिशा र मेरो निधार उस्तै उस्तै लाग्छ ।

    भोको पेटमा ज्यादा, भरी पेटमा कम लाग्ने
    मदिरा र सरकार उस्तै उस्तै लाग्छ ।

    यस गजलमा रदिफको रुपमा तीन शब्द उस्तै उस्तै लाग्छ प्रयोग गरिएको छ । ध्यान दिनुपर्ने कुरा के छ भने रदिफले अन्य मिसरामा पनि काफियासँग मिलेर दाँज्ने कार्यमा सहायता गरेको छ र अन्तमा सेरसँग मिलेर पूर्णता र अर्थ दुवै प्रदान गरेको छ । यसरी यस गजलमा रदिफ दुरुस्त छ ।

    यस्तै गरेर रवी प्राञ्जलको यस गजलमा प्रयुक्त रदिफलाई हेरौं ।

    हुने खाने त्यता तिर
    हुँदा खाने यता तिर

    उतैतिर चल्छ सुवास
    चल्छ हावा जता तिर

    पर्न छाड्यो जूनको किरण
    फूल, पात, लता तिर

    ढुंगे युगमै पुग्यो मान्छे
    फेरि दन्त्य–कथा तिर

    जता हेरुँ अँध्यारै छ
    खोजूँ "रवि" कता तिर ?

    यस गजलमा रदिफको रुपमा एक शब्द तिर लाई लिइएको छ । मतला देखि लिएर हरेक मिसरामा प्रयुक्त रदिफ सेरमै बिलय भएर अर्थ दिने बनेको छन् । मक्ताको सुन्दरता के भने मक्तामा तखल्लुस व्दिअर्थि रुपमा प्रयोग गरिएको छ। गजलगोले सेरमा तखल्लुस प्रयोग गरेको भान नै दिएका छैनन् ।

    अब बाबु त्रिपाठीको गजल हेरौं ।

    नप्यूँनु हानी छ अरुलाई सुझाव
    मेरो त बानी छ अरुलाई सुझाव

    जति छन् प्यूँनेहरु ती सबसँग
    मेरो चिनाजानी छ अरुलाई सुझाव

    दिल टुटेर पिएको हुँदै होइन
    भिन्दै कहानी छ अरुलाई सुझाव

    प्यूँन सधैँ कहाँ रुपियाँ ले पुग्थ्यो र
    पिलाउने दानी छ अरुलाई सुझाव

    भट्टी छ मदिरा छ र त बाबु छ
    यो जिन्दगानी छ अरुलाई सुझाव

    माथिको गजलमा रदिफको रुपमा अरुलाई सुझाव लिइएको छ । अब यस गजलको मतला हेरौं ।
    नप्यूँनु हानी छ अरुलाई सुझाव
    मेरो त बानी छ अरुलाई सुझाव

    मतलामा प्रयुक्त रदिफले काफियासँग मिलेर पूर्णअर्थ प्रदान गरेको छ । रक्सीको बारेमा भनिएको छ, नप्युँनु हानी छ अरुलाई सुझाव, मेरो त बानी छ तर बानी नभएका अरुलाई सुझाव ।

    अब बाँकी मिसराहरुमा जाऔं ।

    सेरले खुलाएको अर्थ यस्तो छः बाँकी जति प्युनेहरु छन् तीसँग मेरो चिना जानी छ, अरुलाई सुझाव । रदिफ बाहेकका मिसराले अरुलाई के सुझाव दिएको हो, त्यो यस सेरमा खुल्न सकेको छैन । अर्थात् सेरको मुखय विषय एकातिर छ भने रदिफ अलग्ग बसेको छ । सेरको दोस्रो भाग अन्तिका (जर्ब) को रुपमा आएको रदिफलाई सेरमा मिसाएर हेर्दा पनि यो बिल्कुल अलग प्रतित भएको छ । बाँकी सेरहरमा पनि रदिफको अवस्था यस्तै छ ।

    यसरी मिसरामा पूर्णत् अलगथलग र अर्थबिहिन अवस्थामा रदिफ बसेको छ या प्रयुक्त छ भने यो रदिफ दोष मात्र हैन, गजल नै भनिदैन । रदिफलाई यसरी मिसराबाट अलग थलग झुण्डाएर मात्र राख्न मिल्दैन । रदिफ मिसरामा मिसिएर अर्थ प्रदानगर्ने हुनैपर्छ । अन्यथा यसलाई गजल भन्न मिल्दैन ।

    बिना रदीफको पनि गजल हुन्छ जसलाई गैर–मरद्दफ गजल भनिन्छ ।

    पुनश्चः माथि लिईएका गजलगोका नामहरु कसैलाई माथि उचाल्ने या खसाल्ने नियतबाट लिइएको होईन् । बाबु त्रिपाठी मलाई असाध्यै मनपर्ने र राम्रो कवि र गजलगो हुनुहुन्छ र मेरो आशय उहाँको लेखनीमा औंला उठाउने पनि कदापि होईन् । म बाबु त्रिपाठीजीसँग उहाँको यस अगजललाई उदाहरणको रुपमा पेश गर्नु परेको अवस्थाका लागि क्षमा चाहन्छु ।