छन्दको उत्पति र विकास

छन्दको उत्पति र विकास-
छन्द पहिले जन्मे कि वेदहरू ? अध्ययन हुन नै बाँकी देखिन्छ यस विषयमा | जे होस् वेदका प्राय ऋचाहरू छन्दमै लेखिएका छन् | शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष वेदकै अङ्ग हुन् (शर्मा,२०६८: ६६)| त्यसैले पनि छन्दको नाता वेदसँग गहिरो रहेको देखिन्छ | गोविन्दप्रसाद शर्मा ढुङ्गानाले बताए अनुसार छन्दका सबैभन्दा पहिला ज्ञाता भगवान शंकर थिए र उनैबाट यो ज्ञान क्रमश: विष्णु, इन्द्र, वृहस्पति, माण्डव्य, सैतव, यास्क हुँदै हस्तान्तरणमार्फत पिंगलसम्म आइपुगेको हो (ढुङ्गाना, २०६६: भूमिका)| यो भनाइलाई हेर्दा वेदको अनादि, अपौरुषेय, अलौकिकपक्ष देवीदेउतासँग पनि गाँसिएको देखिन्छ | यति भएर पनि प्रामाणिक ‘छन्दशास्त्र’ चाहिं आचार्य पिङ्गलकै पहिलो पुस्तकका रूपमा भेटिएको हुँदा पिङ्गल नै छन्दका प्रथम प्रणेता हुन् भन्न सकिन्छ |
छन्दको उत्पतिसँग ब्रह्मा, वाल्मीकि, नाग आदिको कथा वा किंवदन्तीहरू पनि जोडिएको पाइन्छ | जे होस् पिङ्गलकालीन र पिङ्गलपछिको विशाल संस्कृत वाङ्मय भण्डार नै प्राय: छन्दहरूमा आधारित हुँदै आएको प्रष्ट हुन्छ | भास, कालिदास, भवभूति, माघ आदि कविहरूका विश्वविख्यात कृतिहरू मात्र हैन ज्योतिष, आयुर्वेद, पुराण, इतिहास, धर्मशास्त्र, दर्शन, आदिमा (ढकाल, २०६७: २७२) पनि छन्दको बेजोड भूमिका रहेको पाइन्छ | पिङ्गलको छन्दसूत्रलाई टीका गर्ने संस्कृत साहित्यका टीकाकारहरूमा हलायुध, यादवप्रकाश, भास्कर राय, जयकीर्ति, केदार भट्ट, क्षेमेंद्र, गङ्गादास आदि प्रमुख देखिन्छन् | संस्कृत भाषा र साहित्यको नेपाली भाषामा पनि प्रत्यक्ष प्रभाव रहेको हुनाले नेपाली कविताका प्रथम कवि सुवानन्द दासदेखि नै कवितामा छन्दले औपचारिक प्रवेश पाएको देखिन्छ | त्यसपछिका शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल, यदुनाथ पोख्र्याल हुँदै भानुभक्त आचार्यसम्म आइपुग्दा त छन्द नेपाली जनजिब्रोकै अभिन्न साथी बनिसकेको पाइन्छ (नेपाल, २०६८:३)|..
by
Postraj Chapagain
kathmandu nepal