जानकारी
गजलका सोह्र श्रृंगार
गजल, नामैले रसीलो, गम्किलो र मीठो शव्द । गजलमा रदिफ, काफिया, लय, तखल्लुस, मीटर भाव आदि गजलका अंगहुन्, यि सवै भएका गजल एक नवयुवती झैं हुन्छ तर के यहि मात्रै हो त गजल ? पक्कै होईन । आउनुहोस्, पंक्तिकारले जानेका, बुझेका र गूरु तथा अग्रजहरुको मधुवाणीबाट ग्रहण गरेका केहि कुराहरु माथी छलफल गरौं ।
निम्न लिखित कुराहरुले गजललाई सुन्दर बनाउछ :
१. भाषाको सरलता :व्यक्त गर्न खोजिएको भावलाई सहि तरिकाले प्रस्तुत गर्न सक्ने भाषा या शव्दको प्रयोग गजलको पहिलो श्रृंगार हो । सरलतासंग गहिरो भाव छाड्न सफल भएमा मात्र सेरको अस्तीत्व दिगो रहन्छ । उदाहरण :
जब खहरे मत्थर हुन्छ
बाटोमा नयाँ पत्थर हुन्छ
दिपक खड्का
क्रमश........
त्यस्तै
भेला भए स्वार्थीहरु निमुखाको सत्यानाश
जहाँ छैन संवेदना त्यही राजधानी भयो
भक्ति प्रसाद पौडयाल
२. प्रस्तुती ढंग :हरेक सेरलाई कसरी लेखिएको छ यो धेरै नै महत्वपूर्ण कुरा हो । पढने बित्तिकै मनमा चस्स लागेर गंम्भिर असर उत्पन्न गर्न सक्ने सेरहरु दिगो रहन्छन् । भनिन्छ जब सम्म चोट खाईदैन तब सम्म असर महशुस हुँदैन र गजल लेख्नु शोखको बिषय मात्र हैन, गजलगो बनेर एउटा कुरा व्यक्त गर्नु र त्यसै कुरालाई चोट खाएको हृदयले प्रस्तुत गर्दा प्रस्तुतीमा फरक पर्छ नै । अर्थात व्यथालाई भित्र सम्म महशुस नगरी र दिलमा नलिई व्यक्त गरिएको भाव सतही हुन्छ । उदाहरण: साथीले चिठ्ठीमा , लेख्यो मुस्कान मीठो तेरो ।
यार त्यो तस्वीर ,म गाउँमा हुँदाको होला ।
दिनेश ज्ञवाली
३. बिलक्षणता: यो अर्को गहना हो गजल या सेरको । कविले साधाराण कुरालाई पनि बिलक्षण तरिकाले प्रस्तुत गर्दछन् र परिकल्पनालाई साकार रुप दिन्छन् । उदाहरण :
वैद्यले भन्थे घाउमा फूल पिसेर लाउनू
निको हुन्नथ्यो काँडाले नसिएको भए
सरोज अनुराग
<br>
संसारमा दैव छ तिम्ले भन्यौ,
हाँस्दै मैले भने हो भएहुन्थ्यो ।
दिनेश ज्ञवाली
४. व्यथा अभिव्यक्ति : सेरमा गजलगोले कतिको व्यथा भर्न सकेको छ ? यो नै गजलको अर्को गहना हो । गजलगोले महशुस गरेको व्यथा र चोटको दुखाई पाठकमा पनि उत्तिकै प्रभावकारी ढंगले पुगेर आह भन्दै दुख महशुस गरोस यहि नै गजलको अर्को गहना हो ।
बच्चा रोएको हेर्छे स्तन सुकेकी आमा
चौलानी पानी पनि फाट्छ घरी घरी
पंक्तिकार
५ चित्रकारीता : प्रेमको नारी लज्जा, बहुलट्ठीपन्, क्रोध, आदि कुरालाई अनुभव हुने गरेर सेरमा भर्नु अर्को गहना हो ।
उदाहरण :
तिमी अझै धडकी रहेछौ म भित्र,
प्रमाण अरु के दिउँ, जिउँदैछु म ।
सानु शर्मा
बेखबर हुँदै ठिक्क छ त्यता तिम्लाई,
यता पलपल मेरो ईमान जाँचिदैछ
नारायण गाउँले
प्रवास बाटै भन्नुहुन्छ हाँसी खुसी रहू प्रिय
म हाँस्न त मेरो साथमा सँधै हजुर हुनुपर्छ
भगवती कँडेल
६. शिष्ठता : सेरमा सिधा आक्षेप लगाउनु सोभनिय कुरा होईन, गजल भनेकै सत्रुलाई पनि मिठास पूर्वक मान सम्मान गरेर सम्बोधन गरिने काव्य हो, त्यसैले ठाडो र तिछरो शव्दको प्रयोगले गजलको मिठास मर्दछ । हजुर, निगाह जस्ता शव्दले सेरलाई आदरयुक्त, कोमल, मिठासपूर्ण र रसिलो बनाउछ । यस्ता शव्दहरुको अधिकतम प्रयोग भएमा सेर मीठा, कोमल र आदरयुक्त हुन्छन । उर्दु गजलको हकमा कुरा गर्ने हो भने यि तत्व अति वान्छनिय मानिन्छ र गजलको आभुषण पनि यहि नै हो । उदाहरण :
च्यातेर प्रेम पत्र मेरो हजुरले क्या निसाफ भो
ईज्जत जति निगाह भो त्यति अक्षर पो काँ थिए
पंक्तिकार
७. शव्द र अर्थको सन्तुलन :शव्दको सहि चयन गरेर सन्तुलित भाव पस्कन सक्नु पनि गजलको एक गहना हो । उदाहरण :
हिजै साँझ के भएथ्यो आँखा चार अन्जान सँग ।
म के भनौँ ! आजबाटै दुष्मनी भो बिहान सँग ॥
अनन्त लम्साल
माथिको सेरमा पहिलो मिसराले एउटा उत्सुकता व्यक्त गर्दछ र अर्को मिसरा चाँडै पढौं भन्ने लालसा उत्पन्न हुन्छ । दोश्रो मिसराले हिजोको असर बयान गरेको छ ।
८. गहिरो भाव : थोरै शव्द खर्चेर गहिरो भाव दिन सक्नु गजलको अर्को श्रृंगार हो । जिरे खुर्सानी असर भन्न रुचाउँछु यसलाई । उदाहरण :
सपना मै सायद मन मारें
उठेपछि अर्कै मान्छे भएँ ।
मबि सिंह
९. उपमाको प्रयोग :मिसरा ए उलाको भाव खुलाउन सानिमा उपमा प्रयोग गर्नु अर्को गहनाहो गजलको । तर अलंकारको अधिक प्रयोगले गजलको रुप बिग्रन्छ । नेपाली गजलमा धेरै कमले उपमाको प्रयोग गरेको देखेको छ पंक्तिकारले । उदाहरणः
रमाउँछु म जहाँनेर, भुलेर यो जाली संसार,
त्यै ठाउँलाई गफाडीको चोक, भन्छ मेरो साथी ।
सानिध्य म्याग्दी
१०. नेपालीकरणः गजल अरबी, फारसी भाषालाई नाघेर नेपालीमा पनि लेखिन थालियो । साँच्चै भन्ने हो भने फारसी रु अरबी भषाका आगन्तुक शव्दहरु नेपाली शव्दकोषबाट हटाईदिए नेपाली भाषा लंगडो हुन्छ भन्ने मेरो बुझाई छ । र पनि गजलमा सकभर नेपाली शव्दहरु राख्नु उचित हुन्छ । काव्यमा प्रयोग गरिने भाषा उत्तम, सरल र भाव संप्रेषण गर्न उपयुक्त हुनु पर्दछ जस्ले रचनामा प्रवाह (लय), कोमलता र मीठास उत्पन्न गर्दछ र यस्को प्रभाव अन्तरमन सम्म पर्दछ । अनौंठो तर मीठासयुक्त शव्दको प्रयोग जस्ले सेरमा व्यक्त गर्न खोजिएको दुरुस्त भाव गर्नु अति राम्रो मानिन्छ । उदाहरणः
आखिरीमा ऊ आएमा छोपो मेरो झिकिदिनु
उस्को रुप आँखा भरी भर्नु जस्तो तोष कहाँ
पंक्तिकार
लासको मुखछोप्ने कपडालाई छोपो भनिन्छ ।
११. तत्वज्ञान र जीवन दृष्टि :गजलका सेरहरुले तत्व ज्ञान दिंदै गजलगोका जीवन सम्बन्धि दृष्टि उजागर गर्नु पनि गजलको एक गहना हो । उदाहरणः
फुल्दा चुडाउँछन् अनि झरे कुल्ची हिँड्छन सबै।
फूललाई फुले पनि झरे पनि सुख छैन ।
करूण थापा
अन्तीम लक्ष्य स्वर्ग मेरो, ईश्वरको घर जाँदैछु
कोशिश एउटा फलटिप्ने, खालीहात शोभा दिन्न
आकांक्षा शर्मा
पारि हेर्दै बुझाउँछु किनारा मै चित्त आफ्नो
बिना थकान युगौँदेखि देख्छु नदी बगेकै छ । (
रबि प्रान्जल
गजल गजलको मर्म र सेरको भित्री आशय बुझ्नेहरुको माझ मात्र भन्न र सुन्न राम्रो हुन्छ । सतही वाह वाह भन्दा गम्भीर रुपमा सेरको आशयलाई बुझेर वाह गर्नेमाझ सेर भनिनु पर्दछ । सेरको आशय बुझ्नु सवैको बशको कुरा हैन भन्ने बुझाई छ पंक्तिकारको, किन भने सेरमा समाहित गंम्भीरभाव बुझ्न यसै किसिमको आशक्ति हुनैपर्दछ ।
यो लेख अनुभवको आधारमा लेखेको छु र मेरो बुझाईमा सत्य लागेका कुरा उल्लेख गरेको छु । माथि उल्लेखित कुराहरु अझै पनि पूर्ण भने छैन,
सृष्टि अपूर्ण दृष्टि अपूर्ण
ठाकुरको दया बृष्टि अपूर्ण
धन्यबाद ।