जानकारी


  • गजलका सोह्र श्रृंगार

    गजल, नामैले रसीलो, गम्किलो र मीठो शव्द । गजलमा रदिफ, काफिया, लय, तखल्लुस, मीटर भाव आदि गजलका अंगहुन्, यि सवै भएका गजल एक नवयुवती झैं हुन्छ तर के यहि मात्रै हो त गजल ? पक्कै होईन । आउनुहोस्, पंक्तिकारले जानेका, बुझेका र गूरु तथा अग्रजहरुको मधुवाणीबाट ग्रहण गरेका केहि कुराहरु माथी छलफल गरौं ।
    निम्न लिखित कुराहरुले गजललाई सुन्दर बनाउछ :
    १. भाषाको सरलता :व्यक्त गर्न खोजिएको भावलाई सहि तरिकाले प्रस्तुत गर्न सक्ने भाषा या शव्दको प्रयोग गजलको पहिलो श्रृंगार हो । सरलतासंग गहिरो भाव छाड्न सफल भएमा मात्र सेरको अस्तीत्व दिगो रहन्छ । उदाहरण :
    जब खहरे मत्थर हुन्छ
    बाटोमा नयाँ पत्थर हुन्छ
    दिपक खड्का
    क्रमश........
    त्यस्तै
    भेला भए स्वार्थीहरु निमुखाको सत्यानाश
    जहाँ छैन संवेदना त्यही राजधानी भयो
    भक्ति प्रसाद पौडयाल

    २. प्रस्तुती ढंग :हरेक सेरलाई कसरी लेखिएको छ यो धेरै नै महत्वपूर्ण कुरा हो । पढने बित्तिकै मनमा चस्स लागेर गंम्भिर असर उत्पन्न गर्न सक्ने सेरहरु दिगो रहन्छन् । भनिन्छ जब सम्म चोट खाईदैन तब सम्म असर महशुस हुँदैन र गजल लेख्नु शोखको बिषय मात्र हैन, गजलगो बनेर एउटा कुरा व्यक्त गर्नु र त्यसै कुरालाई चोट खाएको हृदयले प्रस्तुत गर्दा प्रस्तुतीमा फरक पर्छ नै । अर्थात व्यथालाई भित्र सम्म महशुस नगरी र दिलमा नलिई व्यक्त गरिएको भाव सतही हुन्छ । उदाहरण: साथीले चिठ्ठीमा , लेख्यो मुस्कान मीठो तेरो ।
    यार त्यो तस्वीर ,म गाउँमा हुँदाको होला ।
    दिनेश ज्ञवाली

    ३. बिलक्षणता: यो अर्को गहना हो गजल या सेरको । कविले साधाराण कुरालाई पनि बिलक्षण तरिकाले प्रस्तुत गर्दछन् र परिकल्पनालाई साकार रुप दिन्छन् । उदाहरण :

    वैद्यले भन्थे घाउमा फूल पिसेर लाउनू
    निको हुन्नथ्यो काँडाले नसिएको भए
    सरोज अनुराग
    <br>
    संसारमा दैव छ तिम्ले भन्यौ,
    हाँस्दै मैले भने हो भएहुन्थ्यो ।
    दिनेश ज्ञवाली
    ४. व्यथा अभिव्यक्ति : सेरमा गजलगोले कतिको व्यथा भर्न सकेको छ ? यो नै गजलको अर्को गहना हो । गजलगोले महशुस गरेको व्यथा र चोटको दुखाई पाठकमा पनि उत्तिकै प्रभावकारी ढंगले पुगेर आह भन्दै दुख महशुस गरोस यहि नै गजलको अर्को गहना हो ।
    बच्चा रोएको हेर्छे स्तन सुकेकी आमा
    चौलानी पानी पनि फाट्छ घरी घरी
    पंक्तिकार
    ५ चित्रकारीता : प्रेमको नारी लज्जा, बहुलट्ठीपन्, क्रोध, आदि कुरालाई अनुभव हुने गरेर सेरमा भर्नु अर्को गहना हो ।
    उदाहरण :
    तिमी अझै धडकी रहेछौ म भित्र,
    प्रमाण अरु के दिउँ, जिउँदैछु म ।
    सानु शर्मा
    बेखबर हुँदै ठिक्क छ त्यता तिम्लाई,
    यता पलपल मेरो ईमान जाँचिदैछ
    नारायण गाउँले
    प्रवास बाटै भन्नुहुन्छ हाँसी खुसी रहू प्रिय
    म हाँस्न त मेरो साथमा सँधै हजुर हुनुपर्छ
    भगवती कँडेल
    ६. शिष्ठता : सेरमा सिधा आक्षेप लगाउनु सोभनिय कुरा होईन, गजल भनेकै सत्रुलाई पनि मिठास पूर्वक मान सम्मान गरेर सम्बोधन गरिने काव्य हो, त्यसैले ठाडो र तिछरो शव्दको प्रयोगले गजलको मिठास मर्दछ । हजुर, निगाह जस्ता शव्दले सेरलाई आदरयुक्त, कोमल, मिठासपूर्ण र रसिलो बनाउछ । यस्ता शव्दहरुको अधिकतम प्रयोग भएमा सेर मीठा, कोमल र आदरयुक्त हुन्छन । उर्दु गजलको हकमा कुरा गर्ने हो भने यि तत्व अति वान्छनिय मानिन्छ र गजलको आभुषण पनि यहि नै हो । उदाहरण :
    च्यातेर प्रेम पत्र मेरो हजुरले क्या निसाफ भो
    ईज्जत जति निगाह भो त्यति अक्षर पो काँ थिए
    पंक्तिकार
    ७. शव्द र अर्थको सन्तुलन :शव्दको सहि चयन गरेर सन्तुलित भाव पस्कन सक्नु पनि गजलको एक गहना हो । उदाहरण :

    हिजै साँझ के भएथ्यो आँखा चार अन्जान सँग ।
    म के भनौँ ! आजबाटै दुष्मनी भो बिहान सँग ॥
    अनन्त लम्साल
    माथिको सेरमा पहिलो मिसराले एउटा उत्सुकता व्यक्त गर्दछ र अर्को मिसरा चाँडै पढौं भन्ने लालसा उत्पन्न हुन्छ । दोश्रो मिसराले हिजोको असर बयान गरेको छ ।

    ८. गहिरो भाव : थोरै शव्द खर्चेर गहिरो भाव दिन सक्नु गजलको अर्को श्रृंगार हो । जिरे खुर्सानी असर भन्न रुचाउँछु यसलाई । उदाहरण :

    सपना मै सायद मन मारें
    उठेपछि अर्कै मान्छे भएँ ।
    मबि सिंह
    ९. उपमाको प्रयोग :मिसरा ए उलाको भाव खुलाउन सानिमा उपमा प्रयोग गर्नु अर्को गहनाहो गजलको । तर अलंकारको अधिक प्रयोगले गजलको रुप बिग्रन्छ । नेपाली गजलमा धेरै कमले उपमाको प्रयोग गरेको देखेको छ पंक्तिकारले । उदाहरणः

    रमाउँछु म जहाँनेर, भुलेर यो जाली संसार,
    त्यै ठाउँलाई गफाडीको चोक, भन्छ मेरो साथी ।
    सानिध्य म्याग्दी

    १०. नेपालीकरणः गजल अरबी, फारसी भाषालाई नाघेर नेपालीमा पनि लेखिन थालियो । साँच्चै भन्ने हो भने फारसी रु अरबी भषाका आगन्तुक शव्दहरु नेपाली शव्दकोषबाट हटाईदिए नेपाली भाषा लंगडो हुन्छ भन्ने मेरो बुझाई छ । र पनि गजलमा सकभर नेपाली शव्दहरु राख्नु उचित हुन्छ । काव्यमा प्रयोग गरिने भाषा उत्तम, सरल र भाव संप्रेषण गर्न उपयुक्त हुनु पर्दछ जस्ले रचनामा प्रवाह (लय), कोमलता र मीठास उत्पन्न गर्दछ र यस्को प्रभाव अन्तरमन सम्म पर्दछ । अनौंठो तर मीठासयुक्त शव्दको प्रयोग जस्ले सेरमा व्यक्त गर्न खोजिएको दुरुस्त भाव गर्नु अति राम्रो मानिन्छ । उदाहरणः
    आखिरीमा ऊ आएमा छोपो मेरो झिकिदिनु
    उस्को रुप आँखा भरी भर्नु जस्तो तोष कहाँ
    पंक्तिकार
    लासको मुखछोप्ने कपडालाई छोपो भनिन्छ ।

    ११. तत्वज्ञान र जीवन दृष्टि :गजलका सेरहरुले तत्व ज्ञान दिंदै गजलगोका जीवन सम्बन्धि दृष्टि उजागर गर्नु पनि गजलको एक गहना हो । उदाहरणः

    फुल्दा चुडाउँछन् अनि झरे कुल्ची हिँड्छन सबै।
    फूललाई फुले पनि झरे पनि सुख छैन ।
    करूण थापा

    अन्तीम लक्ष्य स्वर्ग मेरो, ईश्वरको घर जाँदैछु
    कोशिश एउटा फलटिप्ने, खालीहात शोभा दिन्न
    आकांक्षा शर्मा

    पारि हेर्दै बुझाउँछु किनारा मै चित्त आफ्नो
    बिना थकान युगौँदेखि देख्छु नदी बगेकै छ । (
    रबि प्रान्जल
    गजल गजलको मर्म र सेरको भित्री आशय बुझ्नेहरुको माझ मात्र भन्न र सुन्न राम्रो हुन्छ । सतही वाह वाह भन्दा गम्भीर रुपमा सेरको आशयलाई बुझेर वाह गर्नेमाझ सेर भनिनु पर्दछ । सेरको आशय बुझ्नु सवैको बशको कुरा हैन भन्ने बुझाई छ पंक्तिकारको, किन भने सेरमा समाहित गंम्भीरभाव बुझ्न यसै किसिमको आशक्ति हुनैपर्दछ ।
    यो लेख अनुभवको आधारमा लेखेको छु र मेरो बुझाईमा सत्य लागेका कुरा उल्लेख गरेको छु । माथि उल्लेखित कुराहरु अझै पनि पूर्ण भने छैन,
    सृष्टि अपूर्ण दृष्टि अपूर्ण
    ठाकुरको दया बृष्टि अपूर्ण

    धन्यबाद ।