नेपाली गजल प्रशिक्षण श्रृंखला : १


प्रिय साथीहरू ! नमस्कार !!
नेपाली गजल प्रशिक्षण श्रृंखला अन्तर्गत धेरैजना साथीहरूको आग्रहबाट प्रेरणा लिएर आज देखि म अनलाइन गजल प्रशिक्षणको सुरूवात गर्दैछु ! 
- शेखर "अस्तित्व"
मुम्बई, 
क्रमश 

यस अन्तर्गत सबै भन्दा पहिले म के भन्न चाहन्छु भने - "आजको नेपाली गजलले आफ्नो पहिलो चरण सफलता पूर्वक सम्पन्न गरिसकेको छ ! अर्थात् - आज सम्म हामिले जुन रदीफ र काफिया को कुरा गर्थ्यौं, त्यो कुरा गर्न अब त्यत्ति आवश्यक छैन, किनभने आज गजल लेखनको क्षेत्रमा आउने प्रायजसो सबै साथीहरूलाई रदीफ र काफियाको बारेमा जानकारी छ ! त्यसैले म यस विषयमा धेरै नभनेर यति मात्र भन्छु कि " गजलको मतला (प्रारंभिक शेर) को माथिल्लो पंक्ति (मिसरा-ए-ऊला) र तल्लो पंक्ति (मिसरा-ए-सानी) मा रदीफ भन्दा पहिले प्रयोग भएको "तुक" लाई "काफिया" भनिन्छ ! काफिया मतला पछिको प्रत्येक शेरको दोस्रो पंक्तिमा पनि अनिवार्य रूपमा रदीफ भन्दा पहिले प्रयोग हुन्छ !
यसैगरी रदीफ पनि मतलाको दुवै पंक्तिमा अन्तमा आउने शब्द वा शब्द समूहलाई भनिन्छ ! रदीफ पनि काफिया जस्तै मतला र त्यस पछिको प्रत्येक शेरको दोस्रो पंक्तिमा प्रयुक्त हुन्छ ! फरक यति मात्र हो कि रदीफ शुरूदेखि अन्त सम्म त्यहि रूपमा रहन्छ, रदीफको रूपमा प्रयोग हुने शब्द वा शब्द समूहलाई उक्त गजलमा परिवर्तित गर्न मिल्दैन !
उदाहरण -

हँसायो गजलमा रुवायो गजलमा !
यो शेखरले पागल बनायो गजलमा !

नयाँ बिम्ब रचना नयाँ भाव चित्रण,
नयाँ शब्द शैली सजायो गजलमा !

निभ्या छैन आँधी हुरीमा यो कस्तो !
दियो चेतनाको जलायो गजलमा !

गजलकै विषयमा गजल लेखि थुप्रै !
गजल कसरी लेख्ने सिकायो गजलमा !

उपरोक्त गजलमा "रुवायो, बनायो, सजायो, जलायो, सिकायो" यिनी शब्दहरू काफिया छन् भने, काफिया पछि आएको "गजलमा" भन्ने शब्द रदीफ छ !

* * * * *

प्रिय साथीहरू !
मैले रदीफ र काफियाको विषयमा अत्यन्तै संक्षिप्त रूपमा भनेको छु, किन भने मलाई पूर्ण विश्वास छ कि तपाईलाई रदीफ र काफियाको बारेमा जानकारी छ ! मुख्य कुरा के छ भने वर्तमान समयमा गजलमा जुन विशेष कुरा तर्फ ध्यान दिनु अति आवश्यक हो, त्यो हो गजलको बहर ! थोरैमा भन्ने हो भने रदीफ, काफिया र बहर, यी तीन कुरा मिले पछि गजललाई संरचनात्मक पूर्णता प्राप्त हुन्छ !