नेपाली गजल प्रशिक्षण श्रृंखला - २ By - शेखर "अस्तित्व"

नेपाली गजल प्रशिक्षण श्रृंखला - २
.............................................................

प्रिय साथीहरू नमस्कार !
हेर्नुस न ! मेरो पनि बाध्यता छ ! कुरो के छ भने सिक्ने - सिकाउने कार्यलाई शाब्दिक रूपमा प्रशिक्षण भनिन्छ, त्यसैले यो श्रृंखलामा मैले प्रशिक्षण शब्दको उपयोग गरेको छु ! तर वास्तविकता के हो भने मैले सिकाए जस्तो फील गरेको छैन र तपाईले पनि यस्तो फील नगर्नुहोला ! किनभने हामी सबै गजलको विद्यार्थी हौं र हातेमालो गर्दै एक अर्काको प्रगतिको शुभ चिन्तक र साक्षी हौं ! सबै प्रकारको अहंकार त्यागेर नेपाली गजलको उत्थान गर्ने हाम्रो ध्येय, होम्रो लक्ष्य हुनुपर्छ ! क्रमश ......



यसै क्रममा मैले एउटा सिम्पल तर अति आवश्यक र वास्तविक कुरा जोड्ने अनुमति चाहन्छु ! त्यो कुरा के हो भने आउने समयमा तपाई हामी सबैजनाको पहिचान हाम्रो गजलले गर्दा मात्रै हुनेछ ! र त्यसको लागि गजलको वास्तविक सिद्धाँतको अनदेखि गर्नु हुँदैन ! आज हामिले अनजानमा अथवा अल्पज्ञान ले गर्दा आफ्नो गाँउ-घर, टोल र शहरमा ढुङ्गालाई देउता ठाने जस्तै आफ्नो बहुमत बनाएर अथवा बहुमतको पछि लागेर गजलको मूलभूत सिद्धाँतहरूको साथ छेड़-छाड़ गर्न सक्छौं ! तर सत्य कहिल्यै छोपिंदैन ! सूर्यलाई हत्कोलाले ढाँक्न मिल्दैन ! यो कुरा हामिले बुझ्नै पर्छ ! अन्यथा आउने भविष्यकाल मा हाम्रो फ्यूचरको गजलकार जेनरेशनले हाम्रो यो आत्मघाती कदमको समीक्षा गर्नेछ ! र त्यतिबेला त्यो पीढ़ीले समय सङ्ग आँखा जुधाउने साहस गर्न सक्ने छैन ! हाम्रो यो सानो भूलले गर्दा !
त्यसैले आउनुस ! हामी आ-आफ्नो "म" लाई तिलाँजति दिएर गजलको यस महायज्ञ तर्फ लागौं ! मेरो यो सानो प्रयास र तपाईको अमूल्य साथ यस महायज्ञ मा समिधाको कार्य गर्ने छ ! यहि विश्वास मनमा लिएर आजको यो दोस्रो अङ्कको सुरूवात गर्ने अनुमति चाहन्छु !

प्रिय साथीहरू ! गजल मुख्यत: गेय विधा हो ! गजलमा गेयता हुनैपर्छ ! र त्यसैले गजल एउटा विशेष छन्द, लय, वा मीटरमा हुनैपर्छ ! उपरोक्त ( छन्द, लय, मीटर ) भिन्न-भिन्न शब्द भएपनि सबैको अर्थ एउटै हुन्छ, यसैलाई अरबी / फारसी / उर्दू / हिन्दी गजलमा "बहर" भनिन्छ ! यो बहरको रचना विभिन्न शब्दहरूको समूह बाट हुन्छ ! जसलाई संस्कृतमा "गण" र अरबी / फारसी / उर्दू / हिन्दीमा "रूक्न" भनिन्छ !
रूक्न मुख्य रूपमा ८ प्रकारका हुन्छन् ! एउटा रूक्नलाई रूक्न र एकभन्दा बढी हुँदा अर्कान भनिन्छ ! अर्कान भनेको रूक्नको बहुवचन मात्रै हो भनेर बुझ्नुपर्छ ! अब मुख्य रूपमा बुझ्ने कुरा के हो भने यिनी अर्कान मात्रिक अथवा वर्णिक छन्दको मिलाजुला रूप भएर पनि मुख्य रूपमा गेयता को गुणमा आधारित हुन्छन् ! यसैले म प्रायजसो आफ्नो सबै प्रशिक्षण कार्यशाला हरूमा गेयतालाई प्रधान्य दिन्छु ! र यो नै सही कुरा हो ! अझ नेपाली गजलको विषयमा त यो कुरा अझै महत्वपूर्ण छ, किन भले वर्णिक वा मात्रिक छन्दले तपाईलाई एकछिनको लागि भ्रमित गर्न सक्छन ! त्यो कसरा भन्दा उदाहरण हेर्नुस -
"किन" को उच्चारण नेपालीमा गर्दाखेरी "आमा" जत्तिकै वजन हुन्छ ! तर यदि मात्रिक रूपमा हेर्नुभयो भने लेख्दाखेरी "किन" (। । दुई लघु अथवा ह्रस्व) तथा आमा (ऽ ऽ दुई गुरू अथवा दीर्घ) हुन्छ ! त्यसैले विशेष गरेर "बहरबद्ध गजल" लेख्दाखेरी रूक्नहरूको उच्चारण को "वजन" को विशेष महत्व हुन्छ !
मैले अहिले सम्म भनेका सबै कुरा तपाईले बिर्से पनि एउटा मुख्य कुरा ध्यान राख्ने प्रार्थना गर्दैछु कि - [ बहरबद्ध गजल लेख्दाखेरी रूक्नहरूको उच्चारणको "वजन" को विशेष महत्व हुन्छ !
अब अन्तमा मैले मुख्य रूपमा प्रयुक्त हुने ८ रूक्नहरूको नाम दिंदैछु जो यस प्रकार छन् -

1 - फऊलुन् - फ + ऊ + लुन् ( । + ऽ + ऽ )

2 - फाइलुन् - फा + इ + लुन् ( ऽ + । + ऽ )

3 - मफाईलुन् - म + फा + ई + लुन् ( । + ऽ + ऽ + ऽ )

4 - मुस्तफ्इलुन् - मुस् + तफ् + इ + लुन् ( ऽ + ऽ + । + ऽ )

5 - फाइलातुन् - फा + इ + ला + तुन् ( ऽ + । + ऽ + ऽ )

6 - मुतफाइलुन् - मु + त + फा + इ + लुन् ( । + । + ऽ + । + ऽ )

7 - मफाइलतुन् - म + फा + इ + ल + तुन ( । + ऽ + । + । + ऽ )

8 - मफ्ऊलात् - मफ् + ऊ + ला + त् ( ऽ + ऽ + ऽ + । )

प्रिय साथीहरू ! यो त भयो रूक्नहरूको नाम र उनको वजन ! यिनी कुराहरूको विषयमा तपाईले विभिन्न स्रोतहरू बाट पनि अध्ययन गर्न सक्नुहुन्छ ! धेरैजना अग्रजहरूले यस विषयमा विस्तृत रूपमा लेख्नुभा'छ ! तर...तर...तर....
जसरी जति थ्योरी पढेपनि प्रैक्टिकलको महत्व आफ्नै ठाउँमा हुन्छ, त्यसरीनै यिनी रूक्नहरूको वजनका साथ यिनको उच्चारण कसरी गर्ने त्यो कुरा पढेर सजिलै थाहा हुन्न ! त्यसैको लागि प्रत्यक्ष प्रशिक्षणको बढी महत्व हुन्छ !
यस पछिको श्रृखलामा हामि रूक्नहरूको वजनसहितको सही उच्चारण तर्फ लाग्नै छौं ! हुन त म तपाईहरूको सामुन्ने प्रत्यक्ष उपस्थित छैन ! तैपनि मैले सजिलो तरीकाले उच्चारण सम्बन्धी कुरा राख्नेछु ! र जाँदा जाँदै यति भन्न चाहन्छु कि रूक्नहरूको उच्चारणमा गेयताको अथवा सांगितिकताको विशेष महत्व छ ! तर डराउने आवश्यकता छैन ! तदि तपाई गाउन सक्नुहुन्न तैपनि त्यो वजन सजिलै बुझ्न सक्नुहुन्छ ! गाउँदै नगाएर पनि वजन सहित शेरको वाचन गर्ने कला लाईनै (तहद्) मा गजल वाचन भनिन्छ ! र प्रायजसो सबै हिन्दी उर्दूका ठूल्ठूला मुशायरा हरूमा शायरहरू आफ्नो गजलको वाचन तहद् मा नै गर्छन् !
- शेखर "अस्तित्व"
मुम्बई, 02-04-2014